भरतपुर । चितवानमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलवार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्किदा दुर्घटना भएको हो ।
ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृत्यु भएका श्रेष्ठ उच्चरक्तचापका बिरामी थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्सको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया