वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी दाहाल काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको ०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैदको सजाय पाएका भिमप्रसाद दाहाल काठमाडौंबाट पक्राउ परेका हुन् । 

सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने ५५ वर्षीया दाहाललाई शुक्रवार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजञ्गजबाट खटिएको प्रहरीले नयाँवानेश्वरबाट पक्राउ गरेको हो । 

उनले वैदेशिक रोजगारको व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र विनै आकर्षक सेवा सुविधसहित रोजगारी दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाइ रकम ठगी गरेका थिए । 

दाहाललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरी जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?