काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका चिनियाँ नागरिक ४९ वर्षीय याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको जनाइएको छ ।
ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित कोका न्यू प्युरी एन्ड म्याट्रेस कम्पनी सञ्चालन गरी बस्दै आएका उनले नाबालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौं बोलाई यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौं ल्याएका बालिकालाई उनले शुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौंमा खाने, बस्ने खर्चसमेत उनी आफैँले बेहोर्ने गरेको पनि खुलेको छ ।
सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए । ‘अहिलेसम्म ६ नाबालिकामध्ये दुई जनालाई यौन शोषण गरेको खुलेको छ’, थापाले भने, ‘अन्यलाई होटलमा लगेर ललाईफकाई गरी राखिएको पाइएको छ ।’
उनका अनुसार उनको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छजना बालिकाको उद्धार गरिएको पनि उनले बताए । सीआईबीले उनीमाथि थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।
उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया