भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या

लोकपथ
7
Shares

मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण शुरु गरिएको भएपनि अझै पूरा हुन सकेको छैन ।

विसं २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम थालिएको हो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको हो । भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भएपनि घेरबार, सुरक्षा पोष्टलगायत काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन ।

८० पुरुष र २० महिला अट्ने क्षमताको उक्त कारागार भवन बने कैदीबन्दीलाई अरु जिल्ला लैजाने अवस्थाको अन्त्य हुनेछ । पूरानो कारागार भवन प्रयोगविहीन भएपछि दुई वर्षअघि त्यसलाई कोरोना संक्रमित राख्न प्रयोग गरिएको थियो । कारागार नै निर्माण नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालीकोट, बाँके र दाङ लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुद्दाको फैसला नहुँदासम्म कैदीबन्दीलाई प्रहरीको हिरासतमा राख्ने गरिए पनि फैसलापछि अरु जिल्लामा पठाउनुपर्ने बाध्यता छ । कैदीबन्दीलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि उत्तिकै सास्ती हुने गरेको छ । कैदीबन्दी अरु जिल्ला लगेर राख्दा आफन्तलाई भेट्न समस्या हुने गरेको छ ।

छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरो जुम्ला कारगारमा रहेकाले नौ वर्षदेखि भेट्न नपाएको बताउँछन् । कैदीबन्दी अन्य जिल्ला पु¥याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको प्रहरीले जनाएको छ ।

मुगुबाट बर्सेनि झण्डै २० कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपर्छ । आव २०७६/७७ मा २१, आव २०७७/७८ मा १२ र आव २०७८/७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?