गुणस्तर निर्धारण गरिएका यी ५ वस्तु कानूनी रूपमा कार्यान्वयन गर्छौं : गुणस्तर विभाग

काठमाडौँ — सरकारले पाँच वस्तुमा गुणस्तरसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ग्रिन कफी, पानीको मिटर, कर्कट तथा जस्तापाता, मोटरसाइकलको हेल्मेट, स्टिल तथा स्टिलजन्य पदार्थलगायतको मापदण्ड स्वीकृत गरेको हो ।

गुणस्तरको पुष्टि गर्न उचित प्याकेजिङ र लेबलिङ हुनुपर्ने मापदण्डमा उल्लेख छ । नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार इलाम, गुल्मी, पाल्पा, अर्घाखाँची, तनहुँ, कास्की, लमजुङ ललितपुर, मकवानपुर, पाँचथरलगायत ४२ जिल्लामा कफीको व्यावसायिक खेती संभाव्यता भएपनि हाल ३२ जिल्लामा कफि खेती हुन्छ । २ हजार ६ सय १८ हेक्टरमा ५ सय १५ टन ग्रिन बिन उत्पादन हुन्छ ।

कफीबाहेक पानी मिटर (घरायसी) को पनि मापदण्ड परिषद्बाट स्वीकृत भएको छ । त्यस्तै मोटरसाइकल प्रयोगकर्ताले प्रयोग गर्ने हेल्मेटकै पनि गुणस्तर निर्धारण गरिएको छ ।

यसैगरी पाइप, कर्कट तथा जस्तापाता, स्टिल तथा स्टिलजन्य पदार्थको पनि मापदण्ड निर्धारण भएको जनाएको छ । नयाँ बनेका मापदण्डमा पाइपले थेग्न सक्ने प्रेसर, साइज, जीआई पाइपको विकल्पलगायतको परीक्षणको व्यवस्था गरिएको महानिर्देशक पुडासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?