काठमाडौँ — सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।
सन् २०१७/१८ को १२ महिनाको आँकडाअनुसार काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २.५ र त्योभन्दा साना धुलोका कण रेकर्ड भएको छ। पीएम २.५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय ३२ र सन् २०१८ मा प्रतिघनमिटर हावामा १ सय ३६ माइक्रोग्रामसम्म रेकर्ड भएको हो।
यो आँकडा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो। डब्लूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टाको औसत) मापदण्ड तोकेको छ।
सरकारले पनि २.५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धूवाँ र धुलोका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा ४० माइक्रो ग्रामभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ। विकसित देशमा वायुको गुणस्तर मापदण्डभित्रै सीमित हुने गरेको छ।
आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्। क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पुर्याउने जानकारहरू बताउँछन्। कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया