आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु

काठमाडौं । दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ ।

भुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

जुता पसलमा आगलागी 

तुलसीपुरको एक जुत्ता पसलमा आगलागी भएको छ । तुलसीपुर–५ वीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुत्ताको होलसेल पसलमा आगलागी भएको थियो ।

शुक्रबार बिहान सवा ६ बजे आगलागी हुँदातीन तलाको घरभित्र रहेका सम्पूर्ण समान पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?