पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो (अपडेट)

काठमाडौं । पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यू हुनेको संख्या ५ पुगेको छ । विहिबार राती ८ बजे भएको दुर्घटनामा सुत्केरी महिलासहित ५ जनाको मृत्यु भएको हो । 

पाल्पाको पुर्वखोला-२ ओढारे भिरमा भएकाे दुर्घटनामा परी माथागढी गाउँपालिका-८ की तीन दिनकी सुत्केरी ४१ वर्षीया बुमाकुमारी दर्लामी, ७१ वर्षीय रेवत बहादुर जिसी, ३२ वर्षीया यानिसरा गाहा, २४ वर्षीया कुनिसरा रुचाल र जीप चालक २० वर्षीय बिरेन्द्र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्लामीको तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।

लु १ ज २६५३ नम्बरको जीप पूर्वखोला गाउँपालिका २ को जलपा-बहादुरपुरको कच्ची सडकमा आफैं अनियन्त्रित भएर पल्टिएको प्रहरी कार्यालय पाल्पाले जनाएको छ।   घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?