काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् ।
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रम प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ,
अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने भन्दै उनले भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु । यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु ।’
नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्चेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा केन्द्रले त्यो अवस्थालाई धेरै हदसम्म रोक्न भूमिका खेलेको उनको भनाइ छ ।
‘नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा दुइ सय यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा एक सय बिरामीको मिर्गाैला प्रत्यारोपण गर्दै आइएका छन् ,’ उनले भने
‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो,’ प्रधानमन्त्रीले भने, ‘केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’
प्रधानमन्त्रीले भने, ‘‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया