काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सामेल हुने मन्त्रीहरुको नाम अन्तिम चरणमा पुर्याएको छ ।
आज बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाएको हो । यद्यपि मन्त्री बन्ने सांसदको नाम छान्ने अधिकार गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई दिइएको पार्टी प्रवक्ता मुकुल ढकालले लोकपथलाई जानकारी दिए ।
आजै सबै मन्त्रीहरुको नाम टुंगाएको र औपचारिकता दिन बाँकी रहेको उनको दाबी छ ।
उनका उनका अनुसार जनसरोकारसँग प्रत्यक्ष जोडिएका मन्त्रालयमा रास्वपाको दाबी रहनेछ । यसअघि नै उपप्रधान तथा गृहमन्त्री पाएको रास्वपाले अझै ३ देखि ५ वटा मन्त्रालयको दाबी गर्ने पक्षमा रहेको प्रवक्ता ढकालले बताए ।
‘जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालयमा हाम्रो दाबी रहनेछ ।’ उनले भने, ‘अझै हाम्रो ३ देखि ५ वटा मन्त्रालयमा दाबी रहन्छ । ’
अहिले रास्वपाले शिक्षा, स्वास्थ्य, श्रम तथा वैदेशिक रोजगारी, पर्यटन तथा नागरिक उड्डयन लगायतका मन्त्रायमा दाबी रहेको उनले बताए ।
त्यसैगरी यदी कुनै पावरफुल मन्त्रालय पाएको अवस्थामा दाबी घट्न पनि सक्ने उनको दाबी छ ।
‘यदी जनसरोकारको विषयमा काम गर्ने महत्वपूर्ण मन्त्रालय पाएको अवस्थामा हाम्रो दाबी धेरै मन्त्रालय पाउने भन्दा पनि पाएकोमा काम गर्ने भन्ने हुन्छ ।’ उनले भने ।
सरकारमा धेरै राजनीतिक दलहरुको सहभागिता रहेको अवस्थामा रास्वापाले अब २ मन्त्रालय पाउने देखिन्छ । यसअघि नै उपप्रधानसहित गृह मन्त्रालय पाएको रास्वपालाई २ मन्त्रालय दिनेगरी सहमति हुन लागेको स्रोतले जनाएको छ ।
अहिले मन्त्रिमण्डल टुंग्याउनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । बैठकले सरकारमा सामेल हुने मन्त्रीहरुबारे टुंगो लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया