डडेल्धुरा । डडेल्धुरामा खाल्डोमा एक बालकको शव भटिएको छ । खाल्डोमा गाडेको अवस्थामा बालकको शव भेटिएको हो । आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।
घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।
मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । मृतक बालक बोहराको घरमा दुई आमा र उनका दाइ बस्थे । बुवा रोजगारीका लागि भारतमा छन् ।
डाँडाखर्कका बोहरा पुस १२ देखि घरपरिवारको सम्पर्कमा थिएनन् । पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए । त्यसपछि घरपरिवारसँग बुझ्दा बालक १२ गतेदेखि सम्पर्कमा नरहेको खुलेको थियो । बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन गर्दा शव फेला परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया