प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्रीले के भने ?

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतासँग निर्वाचनको बेला गरिएका सुशासन र समृद्धिका साझा प्रतिवद्धताहरु पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभिन आह्वान गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सोमबारबाट शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राजनीतिक दलहरु सामू जनताको अपेक्षा, गुनासो, चासो र चिन्तालाई तत्काल सम्बोधन गर्दै अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।

जनताले आफूहरुलाई सुशासन र समृद्धिको सर्तसहित निर्वाचित गराएको उल्लेख गर्दै उनले त्यसलाई सार्थक बनाउन संसदलाई परीक्षा केन्द्रको रुपमा लिनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले जनताको निरन्तर निगरानीमा रहेको तथ्यलाई नभुली जनताको अपेक्षा पूरा गर्न नयाँ संसद सफल हुने विश्वास समेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले प्रतिक्रियाको नभई क्रियाको राजनीति गरेर मात्रै आफूहरुले मुलुकमा देखा परेका समस्याहरुको समाधानको सुत्र खोजी गर्न सकिने पनि स्मरण गराए। उनले भने, ‘हामी भखैरै जननिर्वाचित भएका छौं । जनताको हामी माथिको समर्थन सशर्त छ भन्ने मलाई लाग्दछ । निःशर्त छैन । हामी सुशासन दिन सक्छौं या सक्दैनौं । जनताको जीवनमा सार्थक परिर्वतन ल्याउन सक्छौं वा सक्दैनौ रु यो संसद हाम्रो परीक्षाको केन्द्र पनि हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको छ । परम्परागत अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ जान सक्ने अवस्थामा छैनौं । हामीले बिर्सन हुँदैन । हामी निरन्तर जनताको निगरानीमा छौं । यो प्रतिनिधिसभामा लैगिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व छ । यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गर्दछ । हामी फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएका छौं । तर जनतासँग हाम्रो सुशासन र समृद्धिका हाम्रा प्रतिवद्धताहरु भने साझा रहेका छन । मलाई विश्वास छ–हामी प्रतिक्रिया होइन । क्रियाको राजनीति गर्ने छौं । हामी साझा प्रतिवद्धतामा एकठाउँमा उभिनेछौ । भर्खरै हामी जनताको बीचबाट आएका हौं । त्यसैले जनताका अपेक्षा, गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्त नजिकबाट महशुस गरेका छौं । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्नु छ । र, समाधानतिर अगाडि बढनु छ । ’

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा नयाँ दलहरुको प्रवेशलाई आफूले लोकतन्त्र र नागरिक सम्प्रभूताको जीतको रुपमा लिएको र संसदले त्यसलाई नयाँ पूँजीको रुपमा लिनुपर्ने बताए।

उनले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्न यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आफूले अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस काममा आफू सम्पूर्ण रुपमा केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले भने, ‘यस पटक यो प्रतिनिधिसभामा नया दलहरुको प्रवेश भएको छ । नयाँ अनुहारहरु थपिनु भएको छ । म विना कुनै इष्र्या मनैदेखि भन्न चाहन्छु–तपाईको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जीत हो । तपाईहरुमा पक्कै एउटा आवेग र केही गरिछाडने हुटहुटी छ । यो हुटहुटी यो संसदको नयाँ पूँजी हो । र, मलाई विश्वास छ–तपाईहरुको आवेग रचनात्मक हुनेछ । संसदमा तपाईहरुलाई हृदयदेखि नै स्वागत छ । यो संसदको अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा गरे के हुँदैन भन्ने आशा र उत्साह जगाउनुछ । राजनीतिलाई भावना र उत्तेजना भन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्दित गर्नु छ । विभेद र बहिष्करणलाई अस्विकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ । आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ । म आशावादी छु–यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ । हाम्रो अभ्यासहरुमा जनताले गौरव गर्ने वातावरण बन्ने छ । त्यो संकल्प हामी सबैले लिनु परेको छ । राष्ट्रका आवश्यक्ताका बारेमा हामी विवेकपूर्ण निर्णय लिन सक्नेछौं । सहमति मात्रै होइन, हाम्रा मतभेदहरु पनि मर्यादापूर्ण हुनेछन । कम्तिमा मेरो प्रयास र मेरो अपेक्षा यसैमा केन्द्रित हुनेछ । यो सम्मानित र सार्वभौम संसद नेपाली इतिहासको एउटा नयाँ भाष्य रचना गर्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यज्यूहरुलाई बधाई दिँदै विदा हुन्छु धन्यवाद ।’

प्रधानमन्त्री दाहालले राष्ट्रका आवश्यक्ताबारेमा विवेकपूर्ण निर्णय लिन र भएका मतभेदहरु मर्यादापूर्ण ढंगले हल गर्न संसदलाई सफलता मिल्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?