काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले आफूहरुले सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको बताएका छन् ।
शुक्रवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत दिनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले सबै पार्टीसँग छलफल जारी रहेको र सबै पार्टीहरु सकारात्मक रहेकाले विश्वासको मत पाउनेमा विश्वस्त रहेको पनि बताए ।
उनले भने, ‘हामीले सबै राजनीतिक दललाई विश्वासको मत दिनको लागि आग्रह गरेका छौँ । त्यमसा हामी विश्वस्त र दृढ छौँ । हामीले विश्वासको मत वृद्धि गराउन पहल गरिरहेका छौँ । हामीले सबै पार्टीसँग सम्पर्क गरिरहेका छौँ । त्यसै कारणले पनि विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छौँ ।’
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आधिकारिक रुपमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताए । उनले विभिन्न स्तरहरुबाट प्रधानमन्त्री बन्नका लागि प्रश्ताव आएपनि पार्टीबाट आधिकारिक रुपमा भने नआएको बताए । उनले जनतालाई गरेको वाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्ने भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।
उनले भने, ‘हाम्रो पार्टीको अध्यक्षलाई नेपाली काँग्रेसले प्रश्ताव गरेको विषय जुन छ, यसबारे ठूला दललाई टिप्प्पणी गर्न मिल्दैन, विश्वासको कुरा छ, कुन कुराले जनताको विश्वास बिग्रियो भन्ने छैन । हाम्रो अध्यक्षले पनि क्षणिक कुरामा अड्किनु हुँदैन भन्ने छ । हामीलाई आएको छैन । सुनेको भरमा के धारणा बनाउने भन्ने कुरा हो । पहिला पार्टीले भोगेको कुरा सम्झिएका छौँ । कुराहरु विभिन्न स्तरबाट आएका हुन्, तर वास्तविक रुपमा होइन ।’
त्यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शंका गर्नु नपर्ने बताए । उनले जसपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गरे ।
उनले भने, ‘भेटघाट गर्दैमा शंका गर्नु पर्दैन । अरु कुनै विषयमा पनि भेटघाट हुनसक्छ । भेट नै नगर्नु भन्ने होइन । त्यसैले भेटघाट भयो भन्दैमा शेरबहादुर देउवाको पक्षमा गएको होइन । हाम्रो पार्टीले प्रचण्डजीलाई लिखित रुपमा राष्ट्रपतिकोमा गएर हस्ताक्षर गरेका छौँ । हामी प्रचण्डजीलाई मत दिन्छौँ । हामी सरकारको पक्षमा छौँ ।’
यता लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा सहभागी कुनै पार्टीहरुले पनि आफूलाई विश्वासको मत दिन आग्रह नगरेको बताए ।
अध्यक्ष ठाकुरले विश्वासको मत अहिलेको सरकारलाई दिने वा नदिने भन्नेबारेमा कुनै निर्णय पार्टीमा भइ नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया