आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २०७९ मंसिर ७ गते देखि पौष २० गते सम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तरगतको २१ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये १ हजार ८५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको होे ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा विभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३ हजार ७ सय ८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निःशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट सञ्चालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुव्यवसायमा वृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा’’ भन्ने मुल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?