काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई आर्थिक अनियमितिताको आरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । उपरथी शाहीलाई मंगलबार आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको हो । सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीका अनुसार शाहीमाथि आर्थिक अनियमितताको आरोपमा छानबीन भइरहेको छ ।
‘उहाँमाथि आर्थिक अनियमितता गरेको लगायत विषयमा छानविन भइरहेकाले हाललाई ब्यारेकभित्रै बस्न निर्देशन दिइएको हो ।’ लोकपथसँग भण्डारीले भने, ‘अनुसन्धान नसकिएसम्म उहाँलाई जंगी अड्डाभित्रै उपयुक्त ठाउँमा राखिनेछ ।’
छानबीन कति लामो हुनेछ भन्ने लोकपथको जिज्ञासामा भण्डारीले ‘धेरै लामो त नहोला’ भन्दै छानबीन सकिनेबित्तिकै निर्णय लिइने बताए ।
सर्वोच्च अदालतमा आफ्नै अड्डाविरुद्ध मुद्दा हालेको भनेर छानबीनको बहानामा समातिएको त होइन भन्ने लोकपथको प्रश्नमा सहायक रथी भण्डारीले भने, ‘सर्वोच्चको मुद्दासँग यसको कुनै सम्बन्ध छैन ।’
उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै पुस ७ गते नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनी भने अदालतको पत्र लिएर सैनिक अड्डा जाँदै थिए । शाही अड्डा पुग्नै नपाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो । सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया