अर्थ मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन-‘विमानस्थलमा समस्या नहोस्’

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोप्रति आपत्ति जनाएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार बिहान टेलिफोनमार्फत निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका हुन् । साथै, उनले अर्थमन्त्री पौडेललाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्।

सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ।

यता, प्रधानमन्त्री कार्यालयले पनि अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशनमा भनिएकाे छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए । सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?