विपद् जोखिम न्यूनीकरणको शुरुवात मन्त्रालयबाटै गर्न गृहमन्त्रीको निर्देशन

लोकपथ
0
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् जोखिम न्यूनीकरणको शुरुवात मन्त्रालयबाटै गर्न निर्देशन दिएका छन् ।

२५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट तुरुन्तै निस्कन सक्ने गरी आपतकालीन ढोकाको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

उनले विपद् जोखिम न्यूनीकरणको बहस धेरै हुने भएपनि कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेकाले त्यसको सुरुवात मन्त्रालयबाटै गर्न खोजिएको पनि बताए ।

स्कुल, कलेज, पार्टी प्यालेस जस्ता हलमा क्षमता संख्या देख्ने गरी लेख्नुपर्ने र आपतकालीन ढोका लगायत सुरक्षा कवजलाई ध्यान दिन पनि उनको आग्रह थियो । क्षमताभन्दा धेरै मानिस जम्मा भएको या मापदण्ड पालना भए नभएको निरन्तर अनुगमन गर्नुपर्नेमा उनको जोड थियो ।

२०७२ को भूकम्पपछि पनि पूर्वतयारी अर्थपूर्ण हुन नसकेको भन्दै उनले जोखिम न्यूनीकरणका लागि ऐन कानुन अपर्याप्त भए सच्याउन तयार रहेको तर कामलाई बढी दिनुपर्ने बताए ।

माघ २ को भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी मनाउने निर्णय गर्दै बैठकले संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

२०५५ साल मंसिर ७ गतेको मन्त्रिपरिषद् बैठकले प्रत्येक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?