काठमाडौं । सरकारले कुख्यात अपराधी चार्ल्स शोभराजलाई नेपालबाट निकाला गरेको छ । गृह मन्त्रालयले दश वर्षसम्म नेपाल आउन नपाउने गरी शोभराजलाई निष्कासन गरेको हो ।
अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोदप्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् । यो निर्णयसँगै शोभराज अब विसं २०८९ सम्म नेपाल आउन पाउने छैनन् । निष्कासनको निर्णयसँगै उनलाई फ्रान्स पठाइँदै छ ।
त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीले समन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको छ । अध्यागमनसम्बन्धी कसूरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि तिराएको छ ।
अध्यागमन कानुन अनुसार शोभराजलाई दश वर्ष नेपाल प्रवेशमा रोक लगाएर उनको देश निष्कासनको निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका हुन् ।
नेपालमा दुई जनाको हत्या र एकजनाको हत्या प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएपछि उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । अधिकतम २० वर्षसम्म जेल बस्नुपर्ने फैसला भए पनि उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले उनलाई तत्काल छाड्न बुधबार आदेश दिएको थियो ।
केन्द्रीय कारागार प्रशासनले शुक्रबार नै १९ वर्षभन्दा बढी सजायँ भुक्तान गरेका शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया