डुडुवाका बाढी पिडित परिवारलाई राहत तथा खानाको व्यवस्था

लोकपथ
14
Shares

बाँके । बाँकेको डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा आश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गरि तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेका हुन ।

गाउँपालिका वार्ड नम्बर १ का छिटाईपुर्वास्थित दुई वटा पाझा टोलका करिब १ सय २० जना, र सोही वडा अन्र्तगत कृषि चौफेरी, वोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब २ सय ५० जना अहिले बाढी र डुबानबाट विस्थापित भएर गाउँ नजिकै पालिकाले निमार्ण गरेको आश्रयस्थलमा बसीरहेको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि ज्यान सुरक्षित गर्दै आश्रयस्थलको शरणमा पुगेका स्थानीयहरुलाई अहिले तत्काल तयारी खाजा र ४–५ दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ । गाउँपालिका, शसस्त्र प्रहरी र नेपाली सेनाको गरि तीन वटा रबर बोटको प्रयोग गरि राप्ती नदीपारी बगरमा रहेका ती स्थानीयहरुलाई राहतको सामाग्री पठाइएको छ । चिउरा, विस्कुट, चाउचाउ, भुजा र नमकिन नास्ताका लागि तयारी खाजा र खानाका लागि चामल, दाल, नुन, खुसार्नी, गुण आलु, खाना पकाउने ग्यास चुलो र सिलिण्डर, मिनिरल वाटर र जार पानीलगायतको सामाग्री पठाइएको छ । आश्रयस्थलमा रहेका सबैलाई केहीदिनसम्म खाना पुग्नेगरि व्यवस्थापन गरिएको छ ।

अध्यक्ष चौधरीले भने “अब केही दिनसम्म स्थानीय पिडितहरु भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ, पछि अवस्थामा सुधार आएमा गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने छ ।”

वडा सदस्यसमेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको नेतृत्वमा पालिकाका कर्मचारी विजयकुमार यादव र कौशलकुमार कैरातीको टोलीले राहतका सामाग्री लगेर बाढी पिडितलाई उपलब्ध गराएको छ । उक्त टोलीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोलीसमेतले सहयोग गरिरहेको छ । शनिवार राहत लगिएको छ भने नपुगेको स्थानमा आज आइतवार राहतलगायतका सामाग्री लैजान लागिएको समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।

यसैबिच गाउँपालिकाको स्वास्थ्य शाखाले बाढीपिडितहरुका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमा बाढीपिडिहरुको स्वास्थ्यको चेकजाँच, निःशुल्क औषधी वितरण गरिएको स्वास्थ्यकर्मी शैलेन्द्र शर्माले बताए ।

उनका अनुसार बाढी र डुबानबाट विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले तत्काल स्वास्थ्य टोली खटाएर औषधी उपचार गरेको स्वास्थ्य शाखाका सह–संयोजक विरेन्द्र घलेले बताए । स्वास्थ्य शाखाका सह–संयोजक घले, हेमन्त शर्मा, पवन कैराती, शैलेन्द्र शर्मालगायतको टिमले स्वास्थ्य चेकजाँच गरहेको हो । बाढी र डुबानबाट बाँके जिल्लाको सो क्षेत्र सबैभन्दा बढी प्रभावित हुने गर्दछ । पालिका अध्यक्ष चौधरीले बाढी पिडितहरुको उद्धार, राहत र व्यवस्थापनका लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै उनीहरुलाई सक्दो सुरक्षित र उद्धारको कार्यलाई प्रभावकारी बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?