असोज १ देखि दसैं सहुलियत पसल सञ्चालन हुँदै, अनलाइनबाट पनि अर्डर गर्न सकिने

लोकपथ
112
Shares

काठमाडौं । दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा चार ठाउँहरु रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदी कम्पनीको वेबसाइट र अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधासमेत रहेको बताइएको छ ।

कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ । जीरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ ।

त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्राण्डअनुसार फरक फरक पर्दछ । यसैबीच कम्पनीले दसैँका लागि २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको छ ।

जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले पनि चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?