काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले आज (बुधवार) प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ ।
अहिलेसम्म बुझाउनु पर्ने कुनै पनि प्रकारको कर राजस्व नबुझाएको, राजस्व बुझाउन गरिएको ताकेतालाई बेवास्ता गरिएकोले २४ घण्टे सूचना जारी गरेकाे महानगरले जनाएकाे छ ।
यस विषयमा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘आज हामीले पत्र बुझाउन पठाएका थियौँ । उहाँहरुले बुझ्न मान्नु भएन । भोलि पत्र टाँस गछौँ । त्यसको २४ घण्टासम्म पनि राजस्व बुझाउन आउनुभएन भने फनपार्क शिलबन्दी गछौँ ।’ उनले वक्यौता प्राप्त गर्ने विषय उल्लेख गर्दै भने, ‘महानगरले प्राप्त गर्नुपर्ने रकम सरकारी बाँकी सरह असुल-उपर गरिनेछ ।’
डा. अधिकारीका अनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ । यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन । बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ । मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो । त्यसको विवरणका आधारमा हुन्छ ।
पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने विज्ञापन कर र मनोरञ्जन कर राजस्व विभाग बबरमहलमा गएर बुझाउनुपर्छ ।
पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ ।
विज्ञापन कर तर्फ बाह्य विज्ञापनकाे प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया