हजारौं नेता तथा शुभचिन्तक प्रदीप गिरीको शवयात्रामा सरिक

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ । नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ ।

शनिबार राति निधन भएका गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइतबार पार्टी कार्यालय सानेपामा उनको पार्थीव शरीर राखिएको थियो । आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको नेता गिरीको पार्थीव शरीर सानेपाबाट पशुपति आर्यघाटका लागि शवयात्रा निकालिएको कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्षनेताले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि मेडिसिटी अस्पातल पुगेर नेताहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै, नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा.प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् । हजारौं नेता तथा शुभचिन्तक नेता गिरीको शवयात्रामा सरिक भएका छन् । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन् । नेपाल प्रहरीको एक टुकुडीले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?