काठमाडौं । राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारीले पार्टी परित्याग गरेका हुन् ।
चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुलाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनीहरुलाई २४ स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।
‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौं’, नेताहरूले विज्ञप्तिमा भनेका छन् ।
उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।
उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लो स्तरको लाञ्छना लगाउँदै अपराधी झै करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया