पुष्पा भुसाल : अधिवक्तादेखि उपसभामुखसम्म

लोकपथ
231
Shares

काठमाडौं । लामो समयपछि प्रतिनिधिसभाले उपसभामुख पाएको छ ।

आज (शुक्रबार) संघीय संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल गौतम उपसभामुखमा निर्वाचित भएकी छिन् ।

२०७६ साल माघ ६ गतेदेखि रिक्त प्रतिनिधिसभाले आज उपसभामुख पाएको हो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसाल नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।

वि.सं.२०१७ साल फागुन १ गते अर्घाखाँचीमा जन्मिएकी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध रहेकी थिइन् । विद्यार्थी राजनीतिबाट उदाएकी उनी नेपाली कांग्रेसको विभिन्न भातृ संस्थाहरुमा आवद्ध हुँदै आएकी भुसाल खरो बोल्ने नेताको रुपमा परिचित छिन् ।

नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर समेत काम गरेकी छिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्राध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ अघि बढाएकी थिइन् ।

भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन् ।

त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिइन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल ।

भुसाल २०७० मा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन्। २०५६ को संसदीय निर्वाचनमा समेत त्यही क्षेत्रबाट उठेकी थिइन्।

त्यस्तै २०७४ सालको चुनावबाट समानुपातिक सांसद बनेकी भुसाल त्यसबेला समेत उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुन पुगेकी थिइन् । तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।

तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी थिइन् । यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । भने सरकारभन्दा बाहिर रहेको दल लोकतान्त्रिक समाजवादी पार्टीको समेत समर्थन रहेको थियो ।

राजनीतिक परिवारमा हुर्किएकी उनको विभिन्न परिवर्तनमा सक्रियता रहेको छ ।

त्यसो त नेपालमा प्रजातन्त्र स्थापनामा उनको परिवारको सक्रिय भूमिका रहेको छ । २०१५ सालमा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमको छोरी हुन् उनी ।

२०१७ साल पुष १ गते राजा महेन्द्रले पञ्चायत लागू गरेसँगै वीपीसहित उनको परिवार पनि भारत निर्वासनमा गएको थियो ।

पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित भएका थिए ।

सानैदेखि विद्रोही स्वभावकी उनी आफू बुबाको प्रेरणाले राजनीतिमा होमिएको बताउँछिन् । पुष्पा चर्चित डाक्टर एवं पूर्वराजदूत डा. चोपलाल भुसालकी पत्नी हुन् ।

आज भएको निर्वाचनमा उनले १४८ मत प्राप्त गरेकी छिन् । भने उनको निकटतम प्रतिद्धन्दी एमालेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?