काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा थप भातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्र्रस्ताव गरिएको छ ।
सोमबार सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण गर्ने प्रस्ताव पेश भएको हो । बैठकमा थप भातृ तथा शुभेच्छुक संगठन निर्माणको प्रस्ताव पेस भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए ।
त्यसैगरी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पनि छलफल हुने उनले बताए । प्रवक्ता महतले सोमबारको बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेस भएको जानकारी दिए । उनले भने– ‘बैठकको मुल उद्देश्य भनेकै शुुभेच्छुक, भ्रातृ संगठनहरुलाई गति दिनका लागि सबै क्षेत्रलाई समेटेर त्यहाँ संगठन निर्माण गर्न प्रश्ताव गएको छ, त्यो अगाडी बढ्छ । दोस्रो, स्थानीय तहको निर्वाचनको परिणामको समीक्षाको आधारमा हाम्रो के अनुभव रह्यो र कहाँ कहाँ हाम्रो के के कमी कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो कहाँ समस्या आयो यसका आधारमा आउने दिनमा यो गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रश्तुत हुने भन्ने बारेमा छलफल हुन्छ र त्यसमा हामी निस्कर्ष निकाल्छौँ । मुलतः अब आउने निर्वाचनमा हामी केन्द्रित हुन्छौँ । त्यसको लागि पार्टीलाई चुस्त, दुरुस्त ढंगबाट निर्वाचन अभियानलाई अगाडी बढाउने र समसामयिक राष्ट्रिय विषयवस्तु जतिपनि छन् चासो र चिन्ताका विषयहरु छन्, त्यस विषयमा पनि साथीहरुले राख्नुहुन्छ र समग्रमा केन्द्रिय समितिले नै साथीहरुको छलफलमा आएका कुराहरुको आधारमा हामी निस्कर्ष निकाल्छौँ ।’
प्रवक्ता महतले पार्टीको सम्पूर्ण भातृ संगठनहरु पूर्ण रुपमा क्रियाशिल र गतिशिल हुने बताए । उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले जनताप्रति समर्पित हुँदै जनताका तत्कालिक आवश्यकताहरुलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए । उनले भने– ‘चाँडै नै समग्र रुपमा हाम्रो पार्टीको समग्र भ्रातृ, सुभेच्छुक संगठनदेखि लिएर मुल पार्टी पूर्ण रुपमा क्रियाशिल हुन्छ । गतिशिल हुन्छ । त्यही अनुसार हाम्रो प्रचार अभियान अगाडी बढ्छ । परिचालन अभियान अगाडी बढ्छ । निर्वाचन केन्द्रित भएर अगाडी बढ्छ । मलाई लाग्छ यो सरकार पूर्ण रुपमा जनताप्रति समर्पित, जनताका तत्कालिक आवश्यकताहरु र देश र जनताको दीर्घकालिन जुन आवश्यकताहरु छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्नुपर्दछ । त्यो अनुसार जानुपर्दछ । यी विषयहरुमा पनि आएका सल्लाह, सुझावलाई हाम्रो पार्टी सभापति स्वयम् प्रधानमन्त्री हुनुहुन्छ । उहाँले सहस्र त्यसलाई ग्रहण गर्नुहुन्छ ।’
उनले पार्टी केन्द्रीय समितिको बैठक केही दिनसम्म चल्ने जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तुहरुको सन्दर्भमा पार्टीका केन्द्रीय सदस्यहरुले धारणा राख्ने र समग्रमा केन्द्रीय समितिले धारणा बनाउने पनि उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया