नेपाल आइपुगे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओ

लोकपथ
7
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आइपुगेका छन् ।

केहीबेरअघि जियानचाओसहितको ८ सदस्यीय टोली नेपाल आइपुगेका हुन् । त्यससँगै उनीहरु बत्तिसपुतलीस्थित होटल द्वारीकामा पुगेका छन् ।

गत जुनमा सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी० सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ । तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

साथै नेपालमा कम्युनिस्टहरुको एकताको चर्चा चलिरहेका बेला जियानचाओको नेपाल भ्रमणलाई अर्थपूर्ण तबरमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?