काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन् ।
बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।
उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए । उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडी बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताए । उनले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भुमिकाको प्रशंसा गरे ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानको संरक्षकसमेत रहेका उनले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गरे ।
मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया