आज जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा धुमधामका साथ देशभर मनाइँदैछ। 

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।

आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ।

हिन्दुधर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ। व्रतबन्ध गरी वैदिक परम्पराले दिएको शिक्षा-दीक्षाको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत आजको यो चाडले स्मरण गराउँछ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

दिदीबहिनीहरूले आफ्ना दाइभाइको हातमा पवित्र धागो रक्षाबन्धन बाँधेर, टीका लगाएर मिठाई खुवाउने प्रचलन पनि छ।  

परम्परा अनुसार जनैपूर्णिमामा नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन पनि रहिआएको छ। क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । 

काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा आज मेला लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?