निर्मला हत्या प्रकरण : कञ्चनपुरका तीन प्रहरी अधिकारीमाथि विभागीय कारवाहीको तयारी

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले कारबाही प्रक्रिया अगाडी बढाएको छ । साथै एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

निर्मलाको हत्याको घटनामा छानविनमा सक्रियता नदेखिएको र तीन हप्तापनि आरोपी पक्राउ गर्न नसकेको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्रोतका अनुसार अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे बयान लिइने छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएको स्रोतले जनाएको छ । 

त्यस्तै घटनामा शंकास्पद देखिएका एसपीका छोरा र मेयरका भतिजाका साथै यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रालयले जिल्लालाई निर्देशन दिएको स्रोतले बतायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?