श्रमिक समस्या निराकरणका लागि मध्यपूर्व क्षेत्रीय भेला

काठमाडौँ–मध्यपूर्वका देशमा कार्यरत नेपालीले भोग्नुपरेका समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक संयुक्त अरब इमिरेट्स९युएई०को दुबईमा शुरु हुँदैछ ।

यही भदौ ७ गतेदेखि शुरु हुने सो बैठकमा घरेलु कामदारका समस्या, अंगभंग र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा, वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र निःशुल्क टिकट तथा प्रवेशाज्ञाको कार्यान्वयनका बारेमा छलफल हुने एनआरएनएका प्रवक्ता भूषण घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालीम, फर्केर आएका युवायुवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना र समायोजन, सामाजिक सुरक्षा कोष, हजारे अभियानलगायत विषयमा समेत बैठकमा छलफल हुने विज्ञप्तिमा जनाएको छ ।

बैठकले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिनेछ ।

बैठक यही भदौ ९ गतेसम्म चल्नेछ ।

एनआएनएले आफ्नो स्थापनाकालदेखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधारका लागि सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?