प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारले बुझे

काठमाडौं । काँडाघारीबाट अपहरण गरिएका  ११ वर्षीय बालक निशान खड्काको हत्यामा गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको शव परिवारलाई जिम्मा लगाइएको छ । 

प्रहरीसँगको मुठभेडमा नुवाकोटका अजय तामाङ र सिन्धुपालल्चोकका गोपाल तामाङको मृत्यु भएको थियो । शुक्रबार साँझ परिवारसँग भएको सहमतिपछि पोस्टमार्टम गरिएको थियो । 

उनीहरुको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमा अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकले गोपालको शरीरबाट ३ ओटा गोली निकालेका छन् भने ११ वटा गोली लागेको देखिएको छ । गोपालको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।

त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोस्टमार्टमा रिपोर्टमा उल्लेख छ । तर, महानगरीय अपराध महाशाखाले १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?