काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गरेका छन् ।
प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नेछन् ।
नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि समर्पित भई करीब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च ओहदामा रहनुभएका प्रधानसेनापति क्षत्रीले आगामी भदौ २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने नेपाली सेनाले जनाएको छ ।
सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन् । बलाधिकृत रथी थापालाई यही साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम शुक्रबारदेखि लागु हुने गरी प्रधानसेनापतिमा कामु मुकर्रर गरेका थिए ।
बुझबुझारथपछि कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्ने प्रयासस्वरुप कागजको कम प्रयोग गर्ने वातावरणका लागि डिजिटलाइजेशनमार्फत कार्यालयमा कामको शुरुआत गरेका छन् । उनले काठमाडौँ—तराई÷मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार पनि बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई आजकै मितिदेखि हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया