महानगर अपडेट : मतगणना नसकिँदै भरतपुरको उपमेयरमा अधिकारी विजयी, काठमाडौंमा बालेन अगाडि

लोकपथ
504
Shares

काठमाडौं । देशका ६ महानगरपालिकामध्ये ५ वटाको मतगणना जारी रहेको छ । विराटनगर महानगरपालिका प्रमुखमा भने नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला यस अघि नै निर्वाचित भइसकेका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

यस्तो छ ६ वटै महानगरपालिकाको मतपरिणाम : 

काठमाडौं महानगरपालिका : 

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४६ हजार ९ सय ६६ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २८ हजार १ सय ४१ मत ल्याएकी छन् ।

पोखरा महानगरपालिका : 

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५१ हजार ८ सय ८१ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले ४७ हजार ५ सय ७१ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका : 

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ४६ हजार ८ सय ९९ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ३५ हजार ५ सय २७ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका : 

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ३६ हजार ९ सय ३८ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७ सय ६८ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका : 

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ४१ हजार ६ सय २८ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले २१ हजार ३ सय ५५ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका : 

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ३० हजार १ सय ७० मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेका हुन् । पराजित सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार शिल्पा कार्की २५ हजार ६ सय ८० मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत ल्याएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?