आउँदा बस, फर्किंदा बेवास्ता

लोकपथ
1.4k
Shares
file photo

बाजुरा र कञ्चनपुर — भारतका विभिन्न ठाउँबाट मतदान गर्न घर आएकाहरू स्थानीय तहको निर्वाचन सकिएलगत्तै फर्किन थालेका छन् । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर उनीहरू भारतका विभिन्न सहर फर्किरहेका हुन् ।

बाजुराका विभिन्न पालिकामा वडाध्यक्षदेखि प्रमुख पदका उम्मेदवार र दलहरूले निर्वाचनअघि भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै आएका आफूलाई भोट दिन सक्ने धेरैजसो मतदातालाई गाउँ बोलाएका थिए । उनीहरूलाई धनगढी र महेन्द्रनगरदेखि बाजुरा ल्याउन बस र जिपको व्यवस्था पनि गरिदिएका थिए । तर, फर्किने बेला भने सोधपुछ नै नगरेको उनीहरूको गुनासो छ । ‘आउने बेला महेन्द्रनगरमा बस तयार थियो । बाजुरासम्म त्यही बसमा आयौं,’ बाजुरा बाह्रबिसका रनवीर लोहारले भने, ‘भोट हालिसकेपछि हालखबर सोधपुछ गर्न पनि कोही आएनन् । एक साताको छुट्टी मिलाएर आएको हुँ, भोलि फर्किंदै छु ।’ भोट हाल्नकै लागि बाजुराका हरेक गाउँमा २०/३० जना फर्किएका थिए । तीमध्ये धेरैजसो भारतमै मजदुरी गर्नेहरू थिए ।

मतदानका लागि भारतबाट घर फर्किएका बझाङ बित्थडचिरका जयबहादुर धामी पनि शनिबार फर्किने क्रममा कञ्चनपुरको गड्डाचौकी सीमानाकामा भेटिए । दिल्लीमा चौकीदारी गर्ने उनी मतदानको दिनभन्दा एक साताअघि घर आएका थिए । घरमा खेतीपातीको कामसँगै मतदान गरेर पुनः फर्केका हुन् । भारतबाट फर्केकाहरूमा धेरैजसो दलित समुदायका मतदाता छन् । पार्टी तथा उम्मेदवारले बाहिर भएकालाई चुनावका बेला खर्च तथा यातायात व्यवस्थापन गरेर गाउँ ल्याउने विगतदेखिकै चलन हो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चुनाव जित्न उम्मेदवारहरूले भारतबाट ल्याउन सकिनेहरूको हिसाब राखेर खटनपटन गरेका थिए । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?