कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।
नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।
उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए । “विसं २०४०÷४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उनले भने, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।”
“दशगजा र नेपाल–भारत सीमाको वास्ता नगरी भारतले सडक निर्माण गरिरहेकाले हामीले स्थानीय प्रशासन र नगरप्रमुखलाई यसबारे खबर गरेका छौ,” वडाध्यक्ष नाथले भने, “नेपाली पक्षसीत समन्वय गरेर मात्र भारतले सडक निर्माण गर्नुपर्छ ।” उनले सो क्षेत्रमा सीमाक्षेत्र निर्धारण गर्न माग गरे ।
मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया