भारत र पाकिस्तानसँग खेल्ने नेपालकाे सपना

काठमाडौं–२२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ ।
‘एक दिवसीय खेल खेल्ने मेरो मात्र होइन, सबैको सपना थियो । मेरै प्रशिक्षणमा एक दिवसीय खेल्ने सोचेको पनि थिइनँ,’ नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भने, ‘अब अन्य सपना पूरा गर्नु छ ।’ अाजकाे राजधानी दैनिकमा  खबर छ ।
युरोप भ्रमण सकेर नेपाली टोली स्वदेश फर्किएको हो । यस क्रममा नेपालले नेदरल्यान्ड्ससँगको डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज र मेरिलवोन क्रिकेट क्लब (एमसीसी) नेदरल्यान्ड्ससँगै त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकले स्वागत गरेका थिए ।
एक दिवसीय खेल खेल्ने यात्रामा विदेशी, नेपाली प्रशिक्षकसँगै खेलाडीहरूको पनि ठूलो योगदान रहे पनि टमटाको प्रशिक्षणमा नेपालले एक दिवसीय खेलमा जितको इतिहास रचेको थियो ।

‘भर्खरै सिरिज खेलेर फर्किएका छौं । दुई चार दिनपछि हामी नजिकिँदै गरेको एसिया कप छनोटका लागि तयारी थाल्नेछौं । छनोटमा च्याम्पियन हुदै भारत र पाकिस्तानसँग एक दिवसीय क्रिकेट खेल्ने सपना छ,’ टमटाले भने, ‘लर्डस र नेदरल्यान्ड्समा केही सिकेर आएका छौं । अनुभवी र युवा खेलाडीको मिश्रणले टिम सन्तुलित बनेको छ । एसिया कप छनोटमा राम्रो प्रदर्शन हुने अपेक्षा छ ।’
राम्रो क्रिकेट खेलेर उत्कृष्ट ६ भित्र रहने प्रयास हुने टमटाको विश्वास छ । ‘भारत र पाकिस्तानसँग खेल्ने मेरो मात्रै होइन, खेलाडीको पनि सपना छ । खेलाडीलाई अझै एक्पोजरको खाँचो छ । यस्तै, खेलहरू खेलिरहने मौका पायौं भने भारत र पाकिस्तानसँग मात्र होइन, ८–१० वर्ष भित्रमा टेस्ट खेल्न सक्षम हुनेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?