विमस्टेक सम्मेलनअघि ‘सोम’ बैठक, पाहुनालाई गाडी जुटाउन गृहलाई धौधौ

काठमाडौं–बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सदस्य राष्ट्रका उच्च अधिकारीहरुको जमघट हुँदैछ ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

सबै सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरिय अधिकारी संलग्न रहने ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) आयोजना हुने भएको हो । यही साउन २६ गतेका लागि सोम जमघटको मिति तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘अर्को हप्ता ‘सोम’ बैठक हुँदैछ, सम्मेलनको तयारीलाई थप सहज बनाउन यस्तो बैठक हुनलागेको हो’–मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले भने ।

विमस्टेक मन्त्रीस्तरिय बैठकको तयारी, शिखर सम्मेलनका एजेण्डा तय गर्न, घोषणापत्रको मस्यौदा र अन्य वातावरण सहज बनाउन सोम जमघट हुने भएको हो । चौँथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ, मन्त्रीस्तरिय बैठक पनि सोही बेला हुनेछ । सन् २०१४ को मार्चमा म्यानमारको राजधानी ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भएपश्चात् नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ ।

विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । दुई वर्षअघि सन् २०१६ भित्रै नेपालमा हुनुपर्ने चौथो सम्मेलन भूकम्प, नाकाबन्दी र मुलुकको अन्य राजनीतिक कारण देखाउँदै धकेलिदै आएको थियो ।

यसैबीच सम्मेलनमा सहभागी हुने राष्ट्राध्यक्ष, सरकार प्रमुख र अन्य पाहुनाका लागि आवश्यक पर्ने सवारी जुटाउन सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ गाडी किन्ने भन्दा पनि विभिन्न मन्त्रालय र निकाय मातहतका सुविधा सम्पन्न गाडी जुटाउन गृह मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई पत्राचार गरेको छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?