राष्ट्रपतिले गराइन् २ मन्त्रीलाई शपथः पायो ओली सरकारले पूर्णता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराए ।
अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?