एक करोड लगानीमा फेवातालमा नेपाली झन्डाको छायाँ

पोखरा: पोखरा महानगरपालिकासँगको समन्वयमा प्रदेश सरकारले फेवाको माछापुच्छ्रे छायाँमा नेपाली झन्डा राखेर पर्यटकीय आकर्षण बढाउने योजना बनाएको छ ।  
पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँ र यसको बिम्बबारे धेरै अघि देखि भएपनि अझै यो पर्यटकीय गन्तब्य बन्न नसकेको बेला  प्रदेश सरकारले यसमा अझै विशेषता थपेर ब्रान्डिङ गर्दै पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने योजना अघि बढाएको हो । 

झन्डा पार्कको रुपमा विकास गर्न एक सय मिटर अग्लो झन्डा राखिने भएको छ र त्यो झन्डाको छायाँ माछापुच्छ्रेको शिरमा हुनेछ ।

यो योजनाको लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले आधा-आधा खर्च व्यहोर्ने गरी एक करोड रुपैयाँ छुट्एका छन् ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा निर्माण हुने यो योजनालाई मन्त्रिपरिषदले पारित समेत गरिसकेको छ । 

पोखरा महानगरपालिका यसको टेन्डर आहृवानको तयारीमा लागिरहेको छ । गण्डकी प्रदेश सरकारले पर्यटनलाई नै पहिलो समृद्धिको आधार मानेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य राखिरहँदा २०२२ भित्र गण्डकी सरकारले पनि सोही संख्यामै पर्यटक भित्राउने महत्वाकांक्षी लक्ष्य राखेको छ । त्योभन्दा अगाडि २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाइँदै छ । त्यसका लागि नीति तथा कार्यक्रममार्फत नै जोड दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?