गाडीको ठक्करबाट एक जनाको मूत्यु, सात घाइते

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। 

साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । हायसमा सवार सात जना यात्रु सामान्य घाइते भएकाले टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । 
चालक र गाडी दुवैलाई  थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?