चिनी उद्योगद्धारा उखु किसानको साढे १२ करोड ठगी

नवलपरासी । उखु भुक्तानीमा चिनी उद्योगले किसानको साढे १२ करोड रुपैयाँ ठगी गरेको स्थानीय किसानले बताएका छन् । स्थानीय प्रशासनमा किसानले उजुरी दिए पनि स्थानीय प्रशासनले चासो नलिए पछि उद्योगले खुलेयाम ठगी गरेको किसानहरुले दुखेसो पोखेका हुन् ।

किसानको नेतृत्व गरी आवाज उठाउने उखु उत्पादक समिति एक वर्ष देखि अधिवेशन नगरी अवैध रहेको हुँदा किसानको पक्षमा दबाव नदिने र स्थानीय प्रशासन समेत मौन भए पछि किसानले पाउनु पर्ने भुतmानी रकम कम दिएर ठगी गरेको अरोप किसानहरुले लगाएका छन् ।

किसानको पक्षमा कोही नबोलिदिने भए पछि उद्योग सञ्चालकले प्रशासनलाई मिलाएर ठगी गरेको उनको दाबी छ । सरकारले तोकेको मुल्यमा प्रति क्वीन्टल ७० रुपैयाँ कम लिए मात्र भुतmानी दिने बाध्य गराए पछि उखु किसानले बाध्य भएर गर्जो टार्नका लागि थोरै मुल्य लिन परेको स्थानीय किसान लख्खु यादवले बताए ।

जिल्लामा अहिले १८ लाख क्वीन्टल उखु उत्पादन भएकोले उखु मिल संचालकहरुले उखुको भुक्तानी गर्दा प्रति क्वीन्टल ७० रुपियाको दरले कम भुक्तानी गर्दा साढे १२ करोड रुपैयाँ ठगी भइरहेको यादवको दाबी छ ।

उनका अनुसार उखु मुल्यमा भएको ठगीबारे जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि प्रशासन कार्यालयले चासो नलिए पछि ठगीमा प्रशासनको स्वतः मिलोमतो भएको अनुमान लगाउन सकिन्छ, यादवले भने, किसानले उजुरी दिँदा अवैध भई सकेका उखु उत्पादक समितिका पदाधिकारीलाई बोलाएर प्रशासनले गोप्य सल्लाह गर्छ ।

त्यो भएर पनि उखु किसान मर्कामा परेको उनको भनाइ थियो । उखु क्रसिङ्ग सिजनमा उखु मिलहरुले किसानहरुको उखु उधारोमा खरिद गरी लामो समय पछि एकसाता अगाडि देखि मात्र भुक्तानी दिन शुरु गरेका छन् ।

मिलहरुले किसानहरुलाई प्रति क्वीन्टल ५ सय ३६ दशमवल ५६ रुपिया भुक्तानी गर्नु पर्नेमा ४ सय ६५ दशमलव ९२ रुपैयाँको दरले मात्र भुक्तान गरी किसानहरुलाई सोझै प्रति क्वीन्टल ७० रुपिया ठगी गरिरहेको स्थानीय उखु किसान लख्खु यादवले सुनाए ।  

जिल्लामा बागमति खडसारी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुलो चिनी मिल संचालनमा छ । लुम्बिनी चिनी मिल बाहेक ईन्दिरा र बागमतीले किसानहरुको उधारो  रकम भुक्तानी गरिरहेको छ । यसरी जिल्लामा उत्पादित १८ लाख क्विन्टल उखुमा ७० रुपैयाँको दरले ठगी हुँदा १२ करोड ६० लाख रुपैयाँ हुन्छ ।

उखु क्रसिङ्गको बेलामा मिलहरुले किसानहरुलाई फकाउदै अधिकांश उखुहरु सस्तो दरमा नगदमै किनेका थिए । नगदमा गएको उखु समेतमा सर्मथन मुल्य जोडदा साढे १२ करोड ठगी हुने देखिएको छ ।

यता उद्योग पतिहरुले ७० रुपियाको दरले जिल्ला प्रशासन माफर्त सोझै जनताको खाता पठाईने बताएका छन् तर यस विषयमा कुनै परिपत्र मार्फत किसानहरुले थाहा नपाएको कृषक यादवले बताए ।

उनले अब किसानको तर्फबाट उद्योग सञ्चालक विरुद्ध ठगि मुद्दा दर्ता गराउने चेतावनी दिए । जिल्ला प्रहरीले मुद्दा दर्ता नगरे परमादेश गराएर भए पनि ठगि मुद्दा चलाउने उनको भनाई थियो ।

यता उखु भुतmानीबारे किसानको उजुरी परेको भए पनि त्यसबारे प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेलाई मात्र विस्तृत जानकारी हुने प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दराज भुसालले बताए । प्रजिअ लामिछानेलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिईन्छ । जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेतीमा आवद्ध छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?