काठमाडौं । आर्थिक वर्ष २०७४/०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी रकम असुल गरेको छ ।
महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १ सय ८१ जनाबाट कारबाहीस्वरुप पाँच लाख छ हजार १ सय ५० असुल गरिएको हो ।
त्यसैगरी अघिल्लो आवमा १ सय ४२ जनाबाट पाँच लाख असुल गरेको थियो ।
महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १ सय ८१ जनालाई कारबाही गरेको हो ।
उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर जम्मा हुने गरेको छ ।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५ सय देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् ।
हरेक दिन महानगर पालिकाले काठमाडौँ उपत्यकाको ८ सय मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।
अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरुप आर्थिक रकम मात्रै असुल गर्दै आएको छ । आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहर फोलेको प्रमाणसहित फेला पारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया