मुलुकको अर्थतन्त्रसही दिशामा छ : सुरेन्द्र उप्रेती

लोकपथ
56
Shares

काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन्।

उनले अहिले मुलुकको अर्थतन्त्रसही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दावी समेत गरे । उनले कोरोना महामारीपश्चात् बैंक तथा वितीय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए । मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरेपनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दापनि आयात एक्कासी रुपमा ह्वात्तै बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाई छ ।

आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भएपनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनरविचार गर्न पर्ने आवश्यकता आएको छ । अब देश संधै आयातमा निर्भर भएर चल्नेवाला छैन । उत्पादन सँगै रोजगारी देशभित्र नै सृजना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिदैन । विल्कुलै सकिदैन । त्यसैले अबको कार्यक्रममा आफ्नै तुलानात्मक लाभका क्षेत्रहरु छन्। तीनीहरुको गहिरो रुपमा अध्ययन गरेर व्यापक ध्यान दिनुपर्छ । यस्तो बजेट बनाउन आवश्यकता छ । हाम्रो अहिले अर्थतन्त्रमा सबै कुरा एक किसिमले ठिक ठाक जस्तै देखिन्छ । तर दुईवटा चाप अलि बढी नै छ । कोरोना महामारीमा सुस्त रहेको अर्थतन्त्र कोरोना महामारीपछि अर्थतन्त्र चलायमान भयो । विश्वमा कोरोना महामारीपछि नेपालको अर्थतन्त्रमा तिव्र रुपमा चलायमान भयो ।तीन महिनाअघि नै ९८ प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आए । देशको अर्थतन्त्रभन्दा नेपाल छिट्टै पुनरुत्थानको गतिमा गयो,त्यसले केही वाह्य क्षेत्रमा दबाब पुग्यो, अर्थतन्त्र ९९ प्रतिशत अलायमानमा गइसकेको छ, एकैपटक चलायमान हुन खोज्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कृषि क्षेत्रमा हामी खस्किदै गएका छौं, गत वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो, यो समस्या नै हो, अब कृषिमा फरक नीति र कार्यक्रम हुनै पर्छ, उत्पादनमा आधारित अर्थतन्त्र नीति अगाडि बढाएर रोजगारीलाई सपोर्ट गर्ने कार्यक्रम ल्याउनै पर्छ, बजेट यिनै क्षेत्रमा प्राथमिकतामा राखेर आउँछ । हाम्रो आर्थिक वृद्धिदर ५.८४ होइन त्यो भन्दा बढेर ६ प्रतिशत भन्दा माथि जान्छ । अहिलेको अर्थतन्त्रले हामीले उत्पाहित बनाएको छ।’

त्यस्तै अर्थविद् डा। चन्द्रमणि अधिकारीले नेपालको कूल गार्हस्थ्य उत्पादन(जिडिपी)मा कृषिको योगदान १५ प्रतिशतमा आए मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने दाबी गरे । उनले यस्तो अवस्था आउन नदिनको लागि सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथकिता राखेर बजेट ल्याउनु पर्ने आवश्यकता रहेको बताए । डा.अधिकारीले सरकारले प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको बजेट कार्यान्वयनमा समस्या देखिएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए । सरकारले जुन लक्ष्यका साथ प्रतिस्थापन बजेट ल्याएको थियो त्यो लक्ष्य पूरा गर्न नसकेको दाबी अधिकारीको छ । सरकारले मुलुकको अर्थतन्त्र सहि दिशामा रहेको भने पनि अर्थतन्त्रका सूचकहरु हेर्दा अर्थतन्त्र संकटउन्मुख नै रहेको अर्थविद् अधिकारीले बताए । अर्थतन्त्रमा देखिएको संरचनागत समस्या समाधानको लागि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आवश्यक रहेको बताए ।

उनले भने,‘ प्रतिस्थापन विद्येकमा पनि समस्या आएको हो । यसमा कसरी कार्यान्वय गर्ने मानै समस्या आएको हो । बजेट आयो तर कसरी कार्यान्वय गर्ने भनेर सहि बाटो समाउन नसक्दा त्यो प्रतिस्थापन विद्येकले पनि आफ्नो लक्ष्य हासिल गर्न सकेन । अर्थमन्त्रीका सल्लाहकारले अर्थतन्त्र राम्रो छ आर्थिक गतिविधि र आर्थिक वृद्धि प्रक्षेपन भन्दा बढी हुन्छ भन्नुभयो । तर भन्ने भन्दा पनि नतिजामा देखिकी देखिएनन् । सुचकहरुले प्रमाणित गर्छनकी गर्दैनन् । अर्थतन्त्रको संरचनागत परिर्वतन गर्नको लागि सबै भन्दा पहिला राजनीतिक नेतृत्व तयार हुनुपर्छ । बजेट कार्यान्वयनमा विगतमा जुन समस्या थिए अहिले पनि ती समस्या यथावत छन । सबै सुचकहरु नकारात्मक छन् । राजश्व संरचनाको दृष्टिकोण,प्रत्यक्ष आयकरको योगदान पुरानै छ, रोजगारी बढाउन सकिएको छैन । प्रतिवद्धता भएको वैदेशिक लगानी ३० प्रतिशत भन्दा बढी ल्याउन सकिएको छैन । वैदेशिक लगानी आएको छैन । अर्थतन्त्र संकटउन्मुख छैन भन मिल्दैन । अहिलेको बजेटमा सरकारले कषिलाई प्राथकिता दिनु पर्छ । यदि कृषिको देशको कुल गार्हस्थ्य उत्पादमा योगदान घटेर १५ प्रतिशतमा आयो भनि मुलुकमा आर्थिक रुपमा ठूलो दुर्घटना हुन सक्छ ।’

त्यस्तै, अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताए । उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनु पर्ने बताए । रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरुको भ्यालु इडिसन हुनु पर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसहरुलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नती हुने बताए । रोक्काले हामीले आर्थिक वृद्धिदरको हिसाव गर्न छाड्नु पर्ने बताए ।

उनले भने, ‘हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिनु पर्छ। हाम्रो आर्थिक वृद्धिदरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकि रहेका छैनौं । त्यसलाई छाडि दिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६,७ वा १० प्रतिशत हुन सक्छ । अर्थमन्त्रालयलाई धेरै गाली गर्नु आवश्यक छैन । हाम्रो अर्थतन्त्रको खर्च गर्ने संरचनामा नै समस्या छ । संरचनागत रुपमा नयाँ खालको परिर्वतन नगरी केही कुरा लागू हुँदैन । जस्तो अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने भन्नुभएको थियो । तर त्यो कार्यान्वयन हुन सकेन । हाम्रो पुँजीगत खर्च गर्ने निकायहरु काम गर्ना लायक नै छैनन् । कुनै मन्त्रालयले आफ्नो कोटा पूरा गदैन । नेपालको कार्पेटको भ्यालु एड हुँदैन । गार्मेन्टमा अझ उत्पादत छ । कपडा , सिलाउने, सिउने मेसिन बाहिरबाट आउँछ । यहाँ एउटा लगानीकर्ता र घरभाडा मात्रै प्राप्त गर्ने हो । मुख्य निर्यात वस्तुको यस्तो अवस्था छ । हाम्रो त्यस्तो खालको अर्थतन्त्र वृद्धि ग¥यो भने पनि सामान्य मान्छेको वृद्धि हुँदैन ।’

त्यस्तै, बैंक तथा वितिय सल्लाकार डा.शालिकराम पोखरेलले विदेशबाट नेपाल आउने रेमिटेन्सको प्रभावले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोरोना महामारीको बीचमा अत्याधिक रेमिटेन्स नेपाल भित्र्यिएकाले बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको बताए । पोखरेलले तरलता सहज भएर अत्याधिक कर्जा आयातमा गएकाले अहिले बजारमा तरलता अभाव देखिएको बताए । उनले पछिल्लो समय राज्यमा आर्थिक नीति पनि आयातमुखी भएको बताए ।

उनले भने ,‘विगत केही वर्ष देखि हाम्रो देशमा भएको श्रम अन्तर्राष्ट्रिय मुलुकमा श्रमिकको रुपमा जाने त्यहाँबाट प्राप्त हुने रेमिटेन्सले अर्थतन्त्रमा भएको चारै वटा सेक्टर प्रभाव पारेको देखिन्छ । विदेशबाट रेमिटेन्स आयो हाम्रो अर्थतन्त्रको मौद्रिक क्षेत्रमा प्रशस्त तरलता सहज भयो । तरलता प्रशस्त भएपश्चात बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जा विस्तारमा सहजता भयो । कर्जाबाट प्राप्त हुने नाफा राम्रो हुने भएकाले मौद्रिक क्षेत्रमा कुनै समस्या देखिएन । त्यसले नीति निर्माणमा प्रोआक्टिभ रुपमा गएको देखिएन । बजारमा तरलता प्रशस्त भएको कारण कर्जा आयातमुखी भएर गयो । बैंक तथा वितीय क्षेत्रबाट उत्पादन क्षेत्रमा कर्जा विस्तार गएको भए त्यसले मुलुकमा नै उद्यमशिलताको विकास गर्ने गथ्यो । त्यसबाट रोजगारी सिर्जना गर्ने थियो । आन्तरिक उत्पादनलाई बढी प्राथमिकता हुने थियो । त्यसले आयातलाई निरुत्साहित गर्ने थियो । तर राज्यका नीतिहरु पनि आयातमुखी भए । बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भयो । रेमिटेन्सबाट सहज भएको तरलतालाई उत्पादन क्षेत्रमा लगानी बढाएको भए । आन्तरिक उत्पादन बढ्ने थियो । त्यस्तो नीति बन्न सकेन । विदेशी मुद्रा सञ्चिति सहज भएपछि सहज महशुस गरेपछि चल्दै गयो । यसरी अर्थतन्त्रमा चार वटै क्षेत्र रेमिटेन्सको ट्राकमा पर्‍यो । अहिले रेमिटेन्सको कारणले अर्थतन्त्रमा पारेको प्रभावको साइटी इर्फेड हो । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउन र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन । आन्तरिक उत्पादन बढ्न सक्दैन ।अहिलेको बजेट त्यस तर्फ ध्यान दिने छ ।’

पोखरेलले बैंक तथा वितीय संस्थाले प्रवाह गरेको कर्जा आयातमा लगानी गर्दा राज्यलाई राजश्व प्रचुर मात्रामा प्राप्त भए पनि आन्तरिक उत्पादन बढ्ने क्षेत्रमा लगानी नभएको बताए । जबसम्म स्वदेशमा नै आन्तरिक उत्पादन बढाउने र स्वदेशमा नै श्रमिकलाई रोजगारी दिने नीति आउँदैन तबसम्म आन्तरिक उत्पादन बढ्न नसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?