यस्तो छ सशस्त्र प्रहरीको संघीय संरचना

यस्तो छ सशस्त्र प्रहरीको संघीय संरचना
काठमाडौं, १२ असार -सशस्त्र प्रहरी बलले संघीय संरचनामा जाने उद्देश्यसहित संगठनको इकाइ, तहगत संरचना र संख्या तय गरेको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पुनःसंरचनाको खाका तयार पारेको हो ।
मुलुकभर आठ बाहिनी, सबै प्रदेशमा एक÷एकवटा शिक्षालय र सबै जिल्लामा गुल्म रहने गरी सशस्त्रले तयार पारेको संगठन पुनःसंरचनाअनुसार प्रदेश २ मा सबैभन्दा बढी र प्रदेश ६ (कर्णाली) मा सबैभन्दा कम सशस्त्र प्रहरी परिचालन हुने भएको छ ।
सशस्त्रले सात प्रदेशमा सातवटा बाहिनी र काठमाडौं उपत्यकामा थप एक गरी आठवटा बाहिनी बनाएको हो । सशस्त्रले उपत्यकामा रहने बाहिनीलाई ९ नम्बर बाहिनी भनेको छ । सशस्त्रले ७ नम्बर बाहिनीपछि ८ नम्बर नभनी उपत्यकालाई ९ नम्बर बाहिनी नामकरण गरेको हो ।
बाहिनीको कमान्ड नायब महानिरीक्षक (डीआईजी)ले गर्नेछन् । प्रदेशगत रूपमा १ नम्बर बाहिनीमा ५ हजार ३६०, २ नम्बरमा ६ हजार १०३, ३ मा ३ हजार ७७९ र ४ नम्बर बाहिनीमा ३ हजार १५६ सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।

यसैगरी, प्रदेश ५ अन्तर्गतको ५ नम्बर बाहिनीमा ५ हजार ५०१, कर्णाली प्रदेशमा २ हजार ३७७, प्रदेश ७ अन्तर्गतको ७ नम्बर बाहिनीमा ३ हजार ४७८ सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाअन्तर्गतको ९ नम्बर बाहिनीअन्तर्गत ३ हजार ४७८ सशस्त्र प्रहरी रहनेछन् ।
प्रदेश १ अन्तर्गत पाँचवटा गण र १२ गुल्मको व्यवस्था गरिएको छ । अब झापा, मोरङ, सुनसरी, इलाम र उदयपुरमा गण रहनेछन् । यसैगरी, झापाको काँकडभिट्टा र मोरङको रानीमा भन्सार गुल्म, मोरङ र झापामा उद्योग गुल्म र सुनसरीमा राजस्व गुल्म रहनेछन् । ओखलढुंगा र सोलुखुम्बुमा गुल्म प्रस्ताव गरिएको छ । बाहिनी कार्यालय भने मोरङमा रहनेछ । अहिले बाहिनी कार्यालय सुनसरीको पकलीमा छ ।
प्रदेश २ को बाहिनी कार्यालय धनुषामा रहनेछ । अहिले बाराको पथलैयामा बाहिनी कार्यालय छ । प्रदेश २ मा आठवटा गण र पाँचवटा गुल्म रहने व्यवस्था गरिएको छ । प्रदेश २ का आठवटै जिल्लामा गण राखिने भएको छ । जलेश्वर र वीरगन्जमा भन्सार, बारा र पर्सामा उद्योग र बारामै राजस्व गुल्म रहने भएको छ ।

प्रदेश ३ को बाहिनी कार्यालय मकवानपुरमा रहनेछ । प्रदेश ३ मा चारवटा गण र ६ वटा गुल्म रहनेछन् । प्रदेश ३ का मकवानपुर, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा गण रहनेछन् । रसुवा र सिन्धुपाल्चोकमा भन्सार गुल्म र मकवानपुरमा उद्योग गुल्म रहनेछ । धादिङ, सिन्धुली र रामेछापमा गुल्म र नुवाकोटका लागि गण प्रस्ताव गरिएको छ ।
प्रदेश ४ को बाहिनी कार्यालय पोखरामा रहने छ । अहिले पनि पोखरामै बाहिनी कार्यालय छ । प्रदेश ४ मा तीनवटा गण र ६ वटा गुल्म रहनेछ । कास्की, तनहुँ र पर्वतमा गण तथा गोरखा, स्याङ्जा, पूर्वनवलपरासी, मनाङ र मुस्ताङमा गुल्म रहनेछ । कास्कीमा तालिम शिक्षालय (दंगा व्यवस्थापन) र उद्योग गुल्म पनि रहनेछ । म्याग्दी, लमजुङ र बागलुका लागि गुल्म प्रस्ताव गरिएको छ ।

प्रदेश ५ को बाहिनी कार्यालय रुपन्देही रहने गरी प्रस्ताव गरिएको छ । प्रदेश ५ मा ६ वटा गण र नौवटा गुल्म रहनेछन् । प्रदेश ५ का रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियाम गण तथा नवलपरासीमा तालिम शिक्षालय (सीमा सुरक्षा) रहनेछ । सुनौली, जमुनाहा र कृष्णनगरमा भन्सार, रुपन्देही र बाँकेमा उद्योग तथा रुपन्देहीमा राजस्व गुल्म रहनेछ । रोल्पा, प्युठान र पूर्वी रुकुमका लागि गुल्म प्रस्ताव गरिएको छ । पाल्पा, अर्घाखाँची, र गुल्मीमा पनि गुल्म रहनेछ ।
प्रदेश ६ को बाहिनी कार्यालय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहनेछ । अहिले पनि यहाँ बाहिनी कार्यालय छ । कर्णाली प्रदेशमा दुईवटा गण सुर्खेत र जुम्लामा रहनेछन् । यस्तै, हुम्ला, मुगु, डोल्पा, र पश्चिम रुकुममा गुल्म र सुर्खेतमा उद्योग गुल्म रहनेछन् । कालिकोट, सल्यान, जाजरकोट र दैलेखका लागि गुल्म प्रस्ताव गरिएको छ ।
प्रदेश ७ को बाहिनी कार्यालय कैलालीमा रहनेछ । अहिले कैलालीको अत्तरियामा बाहिनी कार्यालय छ । प्रदेश ७ का तीनवटा गणहरु कैलाली, कञ्चनपुर र डोटीमा रहनेछन् । दार्चुला, बैतडी र डडेल्धुराका लागि गण प्रस्ताव गरिएको छ ।
प्रदेश ७ को कैलाली र कञ्चनपुरमा भन्सार, कञ्चनपुरमा उद्योग र कैलालीमा राजस्व गुल्म पनि रहनेछ । बझांग र बाजुराका लागि गुल्म प्रस्ताव गरिएको छ ।
काठमाडौं उपत्यकामा पाँच÷पाँचवटा गण र गुल्म रहने व्यवस्था गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा एक÷एकवटा गण रहनेछन् भने काठमाडौंमै विशेष कार्यदल गण र विपद् व्यवस्थापन गण रहनेछ । यसका अतिरिक्त काठमाडौंमा सुरक्षा र उद्योग गुल्म पनि रहनेछ । भक्तपुर र ललितपुरमा उद्योग तथा ललितपुरमै राजस्व गुल्म पनि रहनेछ । काठमाडौंमै तालिम शिक्षालय (प्राविधिक) पनि रहनेछ ।आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?