कर्णाली प्रदेशसभामा चार विधेयक प्रस्तुत

सुर्खेत । कर्णाली प्रदेशसभामा सरकारले चारवटा विधेयक टेबल गरेको छ । 

प्रदेशसभा भवनमा आज बैठकमा प्रदेश सरकारका तर्फबाट चार विधेयक टेबल गरिएको हो । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५’ र ‘कर्णाली प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५’ सभामा टेबल गरेका थिए ।

यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशभित्रका जिल्लासभालाई व्यवस्थित र मर्यादित बनाउन तयार गरिएको ‘जिल्लासभा सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५,’ कर्णाली प्रदेशको जिल्लाभित्र रहेका गाउँ तथा नगरसभालाई व्यवस्थित र मर्यादित बनाउन तयार गरिएको ‘गाउँसभा र नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सभामा टेबल गरे ।

प्रदेशसभाको अर्को बैठक यही असार १३ गते अपराह्न १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?