काठमाडौँ । साहित्यकार डा. विप्लव ढकालको अनुसन्धानात्मक कृति ‘भोजपुरको वाङ्मय : विमर्श तथा अभिलेखीकरण’ सार्वजनिक भएको छ ।
काठमाडौँको कार्की ब्यान्क्वेटमा एक कार्यक्रमको आयोजना गरी शनिबार पूर्वमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला, पूर्वमन्त्री टंक ढकाल, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पालगायत विभिन्न साहित्यकारहरुले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।
भोजपुरको वाङ्मय समावेशी अनुसन्धानमा आधारित कृति हाे । कृतिकार डा. ढकालले सो कृति आफ्नै जरा र जमिनको संयोजन भएको र भोजपुरकै कुना कन्दरामा रहेका शब्दहरु खोजेर पुस्तक तयार गरेको बताएका छन् ।
ढकालले पुस्तकमा समावेशी इतिहास लेखनको एउटा मोडल तयार पार्ने कोसिस गरेको बताएका छन् । उनका अनुसार पुस्तकमार्फत नेपालभित्र बोलिने सबै मातृभाषाको वाङ्मय समेट्ने गरी सन्देश दिन खोजिएको छ ।
उनले पुस्तकको भूमिकामा भनेका छन्, ‘यस पुस्तकमार्फत मैले इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ भन्न खोजेको हुँ। नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरूको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै बचाऔँ भन्न खोजेको हुँ। बार्दलीबाट होइन, आधारशिविरमा उभिएर सूक्ष्म रूपमा खोजी गरेपछि मात्रै नेपाली वाङ्मयको बृहत् र समग्र इतिहास तयार गर्न सकिन्छ कि भन्न खोजेको हुँ। सबैको हृदय जोड्ने पुल बनाऔँ भन्न खोजेको हुँ।’
भोजपुरे सेवा समाज काठमाडौँले प्रकाशन गरेको सो कृति सात खण्डमा छ । डा. ढकालले ३७ वर्ष लगाएर तयार पारेको उक्त पुस्तकको विमोचन कार्यक्रममा विभिन्न विधामा आबद्ध बुद्धिजीवीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया