गाैतमबुद्द अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा अवरोध

भैरहवा : राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा फेरि अवरोध भएको छ । मुअाब्जा वितरणमा ढिलार्इ भएको बताउँदै विभिन्न राजनीतिक दलका नेताहरूले स्थानीय उठाएर अायोजना निर्माणमा अवरोध गर्न पुगेका हुन् । 

अायोजना निर्माणअन्तर्गत मुअाब्जा वितरणको काम सम्पन्न भर्इसकेको छैन । तुरून्तै मुअाब्जा नदिए कुनै हालतमा विमानस्थल निर्माण अघि बढ्न नदिने स्थानीयवासी, प्रमुख प्रतिपक्षी कांग्रेस र फोरमका नेताहरूले बताएका छन् । उनीहरूले विमानस्थलको धावनमार्ग निर्माण भर्इरहेको स्थानमा पुगेर निर्माणमा अवरोध गरेका छन् । 

मुअाब्जाको नाममा अायोजना निर्माणमा अवरोध भएको यो चाैथो पटक हो । विभिन्न कारणले यसअघि १० भन्दा बढी पटक अवरोध भएको आयोजना स्थानीयले मुआब्जा छिटो दिन माग गर्दै चौथो पटक अवरोध गरेका हुन् । १५ दिनभित्र मुअाब्जा नदिए कुनै पनि काम अघि बढ्न नदिने अड्डी स्थानीयले राखेका छन् । 

बिमानस्थल निर्माण गर्दा २ हजार २ सय परिवारको घरजग्गा अधिग्रहणमा परेको थियो । उक्त जग्गाको २३ अर्ब मुआब्जा वितरण गर्नु पर्ने भए पनि अहिलेसम्म जम्मा ६ अर्ब मात्रै वितरण गरिएको छ । तीन वर्षमा सक्ने गरि वि.सं. २०७१ कात्तिकमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले निर्माण थालेको आयोजना बेलाबखत हुने अवरोधले पछि धकेलिँदै आएको छ । एशियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयां ऋण तथा अनुदान सहयोगमा निर्माण भइरहेको विमानस्थलको करिब ५० प्रतिशत काम सकिएको छ ।

विमानस्थल आउँदो २०१९ को जुनबाट संचालनमा ल्याउने तयारी छ । सुरुमा राम्रो गति लिन नसकेको आयोजनाले भने पछिल्लो समय राम्रो गति लिइरहेको छ । तर दल र स्थानीयको अवरोधले थप पछि धकेलिने चिन्ता थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?