निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइनसक्दै भत्कियो

लोकपथ
35
Shares

पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइनसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले निर्माणको जिम्मा लिएको अस्पतालको पश्चिमपट्टि लगाइएको पर्खाल सम्पन्न नहुँदै भत्किएको हो ।

जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो । अस्थायी भवनको अगाडिपट्टि निर्माणाधीन टेवा पर्खाल सम्पन्न नहुँदै भत्किएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेका जटिल किसिमका बिरामी जोखिम मोलेर उपचार गराउन बाध्य छन् ।

ठेकेदार कम्पनीले घडेरी सम्याउँदा फालिएको माटोमाथि पर्खाल लगाएकाले भत्किएको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले बताए ।
पर्खाल निर्माण गरिएको ठाउँ कमजोर रहेको र स्टिमेटसमेत गलत भएकाले अस्पतालको निर्माणाधीन पर्खाल भत्किएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका इञ्जीनियर रामहृदय पट्टेलले बताए ।

सङ्घीय सरकारको करिब रु २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न अहिले पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ ।

अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, डेलीभरी (सुत्केरी गराउने ठाउँ) कक्ष, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा बैभव मल्लिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?