दार्चुला-टिंकर सडक आयोजना निरीक्षण भ्रमणमा पुगे प्रधानसेनापति

लोकपथ
0
Shares

प्रधान सेनापति प्रभुराम शर्मा दार्चुला-टिंकर सडक आयोजनाको निरीक्षण भ्रमणमा पुगेका छन् । रक्षा सचिव किरणराज शर्मासहित त्यहाँ पुगेका उनले दार्चुलास्थित गुरुगोरख गुल्मको सामुहिक तालिम ईलाका, महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण समेत गरेको नेपाली सेनाले जनाएको छ ।

सो क्रममा प्रधानसेनापतिले नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला-टिंकर सडक आयोजनाको स्थलगत अवलोकन गरेका थिए भने तत्पश्चात नं.२५ बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गरी व्यारेक एरिया समेत निरीक्षण गरेका थिए।

बिहीबारको उक्त निरीक्षण भ्रमण पूर्व उनीहरुले सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल गरेका थिए ।

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्मा तथा रक्षा सचिव शर्माले शुक्रबार कञ्‍चनपुर जिल्लाको गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधिन होल्डिङ सेन्टरको अवलोकन गर्ने योजना रहेको छ । तत्पश्चात, सुर्खेत, फँलाटेस्थित सामुहिक तालिम ईलाकाको निरीक्षण गर्नुका साथै कमाण्ड तहको अभ्यास “अभ्यास तारागढी” को स्थलगत अवलोकन तथा तालिमरत सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?