काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित सडकमा मे.१ ज १९१८ नम्बरको म्याजिक गाडीले प्र.१-०१-०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका(११ बस्ने ५४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका-४ बस्ने ४९ वर्षीय कृष्ण राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिन्धुली, गोलन्जोर गाउँपालिका-६ घोकसिलास्थित सडकमा ना.४ ख ९९६८ नम्बरको बस पर्किङ गर्ने क्रममा बसले च्यापिएर सोही ठाउँ बस्ने १५ वर्षीय केशब मग्राती सार्कीको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रौतहट, गरुडा नगरपालिका-८ जिगडियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया